अटिजम समन्धीको चेतना अभिवृद्धि गर्नुका साथै अटिजम भएका बालबालिका तथा किशोर किशोरीहरुलाई थेरापी सहित उनीहरुको अनुकुलताको शिक्षा प्रदान गरी शारीरिक तथा बौद्धिक रुपमा सक्षम बनाउने पवित्र उद्देश्यका साथ २०६८ सालमा स्थापना भई कामपा–३२ नरेफाटमा सञ्चालन भइरहेको विशेष स्कूल तथा पुनस्थापना केन्द्रले यही २०७९ साल वैशाख १० गते विशेष कार्यक्रमको आयोजना गरि यस प्रतिष्ठानलाई यस वर्षको पवित्रा सिटौला (उप्रेती) समाजसेवा पुरस्कार तथा सम्मान गरेकोमा हार्दिक आभार व्यक्त गर्दछौँ ।
विशेष स्कूल तथा पुनस्थापना केन्द्रका सल्लाहकार तथा पवित्रा सिटौला (उप्रेती) समाजसेवा पुरस्कार कोषका संस्थापक तथा संरक्षक समाजसेवी तुलसीप्रसाद उप्रेतीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानकी अध्यक्ष शकुन्तला दाहाललाई रु २५००१।– (रु पच्चीस हजार एक रुपैया) पुरस्कार सहित सम्मान गर्नुभयो । नेपाल सरकारका पूर्व सचिव गोपी मैनाली, राष्ट्रिय विमा संस्थानका कार्यकारी प्रमुख कवि पाठक, युनिभर्सल टेलिभिजनका सञ्चालक ईश्वरप्रसाद ढकाल लगायतका महानुभावहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विशेष स्कूल तथा पुनस्थापना केन्द्रका सल्लाहकार तथा नियमितरुपमा केन्द्रलाई सहयोग गर्नुहुने व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।